पोखरा, २५ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमात्रै ठूलो दम्भ देखाए नेकपा एमालेका अध्यक्ष केपी ओलीको जस्तो हालत हुने बताएका छन् । पोखरामा आइतबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् ।
आफ्नो दम्भ र घमण्डकै कारण ओली सकिएको भन्दै अध्यक्ष नेपालले भने, ‘सबैलाई जानकारी होस् कहिले कम्युनिस्टलाई हामी धेरै शक्तिशाली छौँ भन्ने दम्भ हुन्छ । कहिले कांग्रेसलाई हामी धेरै शक्तिशाली छौँ भन्ने दम्भ हुन्छ । त्यो दम्भ नराख्नुहोस्, केपी को विनाश भयो, तपाईंको पनि हुनसक्छ । सबैको शक्तिलाई स्वीकार गर्नुपर्छ ।’
उनले गठबन्धन गरेर आफूहरूले सही निर्णय गरेको दावी गर्दै गठबन्धनबारे भ्रममा पर्न आवश्यक नरहेको पनि बतए । गठबन्धन गरेर देश र गणतन्त्र जोगाएको दाबी गर्दै उनले भने, ‘विगतमा कांग्रेस र कम्युनिस्ट मिलेर विभिन्न कालखण्डमा आन्दोलनलाई सफल पार्नुका साथै संविधानसभाबाट संविधान लेख्न सफल भएकोछ ।’
उनले देशमा अहिले दुईवटा गठबन्धन रहेको समेत बताए । अध्यक्ष नेपालले भने, ‘देशमा अहिले एउटा प्रगतिशील र बाम–लोकतान्त्रिक गठबन्धन छ । अकोर्, गठबन्धन दक्षिणपन्थी प्रतिगामी, संविधान विरोधी, संघीयता विरोधी र गणतन्त्र विरोधी छ । त्यस गठबन्धनको नेतृत्व केपी ओलीले गरेका छन्, जसको २–२ संविधानले दिँदै नदिएको अधिकारको दुरुपयोग गरेर संविधानको गलत व्याख्या गरेर संसद् भंग गरे । उनलाई यो संविधानको माया छैन, लोकतन्त्रको पनि छैन ।’
अध्यक्ष नेपालले ओली बयलगाडा दर्शनको प्रवर्तक भएको आरोप लगाउँदै आन्दोलनबाट गणतन्त्र आउँदैन भन्दै खिल्ली उडाउने ओली नै भएको बताए ।