पोखरा, २५ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन कांग्रेसलाई सबैभन्दा बढी आवश्यक भएको बताएका छन् ।
आइतबार पोखरामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांगे्रस सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको समेत दावी गरे ।
‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज कांग्रेसको नेतृत्वमा सरकार छ’ उनले भने, ‘सबै पार्टी सहभागी भएका छन् । त्यसकारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंकाउपशंका गर्ने काम गर्नु हुँदैन ।’
उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद भंग गरेपछि गठबन्धन बनेको र अरु दल उदार भएर कांग्रेसलाई सरकारको नेतृत्वमा ल्याएको बताउँदै गठबन्धनलाई जोगाउन र सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए ।
उनले ओली स्वयं र उनले नेतृत्व गरेको पार्टी प्रजातन्त्र र, गणतन्त्रको खिलापमा रहेको उल्लेख गर्दै स्थायित्व र स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्ने बताए । उनले भने, ‘गठबन्धनलाई जिताएन र ओलीले जित्यो भने ओलीले फेरि संसद भंग गरिदिनसक्छ । र, राजतन्त्र फर्काउन सक्छ ।
गठबन्धनको भागबण्डामा असन्तुष्ट रहेका कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले गठबन्धन बचाउनका लागि पोखरामा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने बताए ।