‘प्रचण्डलाई जुत्ता हान्छु’ भनेर स्टाटस लेख्ने पत्रकार पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २५ बैशाख

दाङ, २५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकार पक्राउ परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ५२ वर्षीय पत्रकार यज्ञबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुढाले सामाजिक सञ्जाल फेसबुकमा ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर पोष्ट गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्रेको हो । प्रहरी प्रमुख काफ्लेले बुढामाथि विद्युतीय कारबाही ऐनअनुसार कारबाही हुने बताए । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।

प्रहरीका अनुसार यसअघि पनि अनलाइन सञ्चालक मगरविरूद्ध जिल्ला अदालत सुर्खेतले गत पुसमा पाँच महिना कैद र पाँच हजार जरिमानाको फैसला सुनाएको थियो । त्यस समयमा मगरले पीडित राउटे समुदायका युवतीको पहिचान खुलाएर अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेखेका थिए । बुढाले तुलसीपुरबाट राप्ती पहिचान नामको अनलाइन सञ्चालन गर्दै आएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ । प्रचण्डसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि दाङ आउन लागेपछि प्रहरीले जिल्लाको सुरक्षा अवस्था कडा पारेको छ ।

प्रतिक्रिया