तीन गाउँपालिका अध्यक्षसहित ३९० जना निर्विरोध, कुन दलबाट कति ?
अखबार टुडे
प्रकाशित:
२०७९, २५ बैशाख

काठमाडौं, २५ वैशाख । स्थानीय तह निर्वाचनमा ३ गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् । शनिबार निर्वाचन आयोगले निर्विरोध निर्वाचित हुनेको विवरण सार्वजनिक गरेको हो ।

आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । आयोगले सार्वजनिक गरेको विवरण अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै पालिका अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका छन् । प्रदेश १ मा ४३, मधेसमा ९, वाग्मतीमा ४६, गण्डकीमा ११२, लुम्बिनीमा ८, कर्णालीमा १५७ र सुदूरपश्चिममा १५ जना निर्वाचित भएका छन् ।

डोल्पाका तीन गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन् । काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ र शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निमा बुढा, छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै, एमालेका १७, कांग्रेसका १६, समाजवादीका ६, माओवादीका ३ र स्वतन्त्र ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । सबैभन्दा बढी दलित महिला सदस्य निर्वाचित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, मनाङको नार्पाभूमि गाउँपालिका– ४ र ५, मनाङ डिस्याङ गाउँपालिका ३ र ९ तथा हुम्लाको नाम्खा गाउँपालिका–६ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया