अफगानिस्तानमा तालिबानद्वारा महिलालाई बुर्का लगाउन आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, २५ बैशाख

काठमाडौं, २५ बैशाख । तालिबानले सार्वजनिक स्थानमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएको छ । यसलाई सत्ता कब्जा गरेयता उनीहरूले लगाएको कठोर नियन्त्रणका रूपमा हेरिएको छ ।

आफ्नो पहिलो शासनकालमा यस्तै व्यवस्था लागु गरेका उनीहरूले गत वर्ष सत्ता हातमा लिएपछि बुर्का अनिवार्य गर्नेबारे कुनै आदेश दिएका थिएनन् । नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई केवल सुझाव भनेको छ ।

तर, यसको कार्यान्वयन नगर्ने महिलाका श्रीमान वा पुरुष अभिभावकलाई छोटो जेल सजायसहितका कारबाही गर्ने चेतावनी दिइएको बीबीसीले उल्लेख गरेको छ ।

तालिबानहरूले सत्ता हातमा लिएपछि कतिपय महिलाहरूले बुर्कासँग अफगान संस्कृतिको सम्बन्ध नभएको भन्दै प्रदर्शन गरेका थिए ।
तालिबानको पछिल्लो कदमलाई महिलाहरूको स्वतन्त्रतालाई थप कुण्ठित गर्ने उनीहरूको प्रयासका रूपमा हेरिएको छ । बीबीसीका सिकन्दर केरमानीका अनुसार नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालय हालैका सातामा सक्रिय बन्दै गएको छ ।

उनका अनुसार उक्त मन्त्रालयले महिलाहरूलाई पुरुषबिना एक्लै लामो दूरीको यात्रा गर्न रोक लगाएको छ एवं महिला र पुरुषलाई एकै समयमा पार्कमा जान रोक लगाएको बताइएको छ ।

केरमानीका अनुसार कुनै महिलाले बुर्का नलगाएको अवस्थामा पहिलो चरणमा बुर्का नलगाउने महिलाको घर पहिचान गरी उनको परिवारका पुरुष सदस्यहरूलाई सुझाव दिइने छ ।

तालिबानहरूले अनुहार नढाक्ने महिलाका पुरुष अभिभावकहरूलाई तीन दिनसम्म जेलमा थुन्नसक्ने पनि चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यसअघि अफगानिस्तानका ठूला सहरहरूमा महिलाले धार्मिक कार्यक्रमहरूमा सल लगाउने गरेका थिए । तर, काबुलजस्ता ठाउँमा उनीहरूले आफ्नो अनुहार ढाक्ने गरेका थिएनन् । पछिल्लो आदेशपछि त्यसमा कस्तो परिवर्तन देखिन्छ त्यसका लागि कुर्नुपर्ने केरमानीको टिप्पणी छ ।

सन् १९९६ देखि २००१ सम्म निलो रङ्गको अनुहार ढाक्ने बुर्का तालिबानहरूको कठोर शासनको विश्वव्यापी चिन्ह बनेको थियो ।
(बीबीसी नेपालीबाट)

प्रतिक्रिया