मृत भेटिएका कांग्रेसका बागी उम्मेदवारको सुसाइड नोटमा के छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २४ बैशाख

सुनसरी, २४ बैशाख । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएको भन्दै सुनसरीको रामधुनी नगरपालिका–८ का वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन् । उनको शव शनिबार बिहान फेला परेको हो ।

रामधुनीको डुम्रास्थित पौडोल चोकमा परिवारसहित बस्दै आएका पौडेल कांग्रेसका क्रियाशील सदस्य हुँदा समेत ०७४ को चुनावमा टिकट नदिएको र यसपटक पनि नदिएकाले स्वतन्त्र प्यानललै बनाएर वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका थिए ।

कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि स्वतन्त्रमा उठेका उनी चार दिनअघि मात्र घरबाट वेपत्ता भएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनी मोबाइल फोन घरैमा राखेर चार दिनअघि घरबाट वेपत्ता भएपछि परिवारले दिएको उजुरीको आधारमा प्रहरीले खोजी गरेको थियो । तर, उनी भोलिपल्ट सम्पर्कमा आएका थिए ।

सम्पर्कमा आएपछि उनले आफू साथीको घरमा बसेको बताएका थिए । उनको शवसँगै प्रहरीले सुसाइड नोट पनि बरामद गरेको प्रजिअ यादवले बताए ।

सुसाइड नोटमा पौडेलेले लेखेका छन्, ‘यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू । डीएसपी एन कार्की एकदमै राम्रो मान्छे यति बुझदिनू । पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु । घरपरिवारलाई ठीकसँग राख्नू । कसैले पिर नगर्नू । समय कम छ । यतिनै लेखे । अस्तु ।’

स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको विवादका बीच पौडेलको मानसिक सन्तुलनमा केही गडबढी उत्पन्न भएकाले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । तर उनले मितिसहितको हस्ताक्षर गरेको सुसाइड नोट उनैले लेखेको हो वा अरुको दबाबमा परेर लेखेको त्यसबारे भने अनुसन्धान हुन बाँकी छ ।

पौडेलको आत्महत्या घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पोष्टमार्टमका लागि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रतिक्रिया