श्रीलंकामा फेरि संकटकाल घोषणा, प्रधानमन्त्री राजापाक्षद्वारा राजीनामा दिने तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २४ बैशाख

कोलम्बो, २४ बैशाख । आर्थिक तथा राजनीतिक रुपमा संकटमा झेलिरहेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ ।

शुक्रबार मध्यरातदेखि लागू हुनेगरि संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न सङ्कटकाल लागू गर्नु परेको स्पष्ट पारेका छन् ।

आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सङ्कटका घोषणा गरेको हो । उनले सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि सङ्कटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ ।

आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन सङ्कटकाल लगाउनु परेको उनको भनाई छ ।

सरकारले सङ्कटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन् ।

यसैबीच श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा दिने तयारी गरेको जनाइएको छ । देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेका उनी निकट श्रोतहरूले जनाएका छन् ।

राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दवाव परेको छ ।

आन्दोलनकारीहरूले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दवाव दिएका छन् । उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किदै जाने देखेर उनले राजीनामा दिने तयारी गरेको बताइएको छ ।

आन्दोलन चर्किदै गएको र सङ्कटकाल लागू भएको परिप्रेक्षमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री महेन्दा राजापाक्ष राजीनामा दिन सहमत भएको जनाइएको छ ।

प्रतिक्रिया