७७ वटै जिल्ला पुग्यो मतपत्र
अखबार टुडे
प्रकाशित:
२०७९, २४ बैशाख

काठमाडौं २४ बैशाख । यही ३० बैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । मतपत्र छपाइ सकिएसँगै निर्वाचन आयोगले १३ वैशाखदेखि विभिन्न जिल्लाका लागि मतपत्र पठाउन सुरु गरेको हो ।

सडकमार्गबाट सहज नहुने जिल्लाहरुमा हवाइ मार्गबाट पत्रपमत ढुवानी गरिएको हो मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड ७ लाख ४६ हजार मतपत्र छपाइ गरिएको छ ।

वैशाख १२ गतेसम्ममा आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरे आयोगले विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् ।

सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

साथै, थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको आयोगले जनाएको छ ।

निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

प्रतिक्रिया