नवौँ राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०७९, २४ बैशाख

काठमाडौं, २४ बैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ खेलकुदमा कस्तुरी मृगको मस्कट राखिएको छ भने लोगोको शीर्ष स्थानमा पोखराको पहिचान झल्किने माछापुछ्रे हिमाल राखिएको छ । कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको उक्त लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।

राखेपले नवौं राष्ट्रिय खेलकूदका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारसहित सार्वजनिक सूचना जारी गरेको थियो ।
नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् ।
लोगो र मस्कट बनाउनेले क्रमसः ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार पाएका छन् ।

राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटा मात्र आवेदन परेको बताइएको छ । उक्त गीत प्रतियोगिताका लागि सुहाउँदो नभएकोले पारित नगरिएको राखेपले जनाएको छ ।

प्रतिक्रिया