अध्यक्ष केपी ओलीसँग भोट माग्ने नैतिक आधार छैन: गगन थापा
अखबार टुडे
प्रकाशित:
२०७९, २३ बैशाख

काठमाण्डौं, २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले गएको ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनुपर्ने बताए ।

महामन्त्री थापाले २०७४ सालयताको ५ वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए । ‘कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफि माग्नुपर्ने हुन्छ,’ उनले भने, ‘जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको समय र अवसर उहाँहरूले खेर फालेकोले जनतासमक्ष क्षमायाचना माग्नुपर्छ ।’

थापाले अबको पाँच वर्ष जनताले कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बताए । महामन्त्री थापाले नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टी पङ्क्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया