देशभरका सरकारी विद्यालय ६ दिन बन्द हुने
अखबार टुडे
प्रकाशित:
२०७९, २३ बैशाख

काठमाडौं, २३ वैशाख । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदानस्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो ।

सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ । शिक्षा तथा मानव सोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले अधिकांश विद्यालय मतदान केन्द्र भएकाले सबै विद्यालय बन्द हुन सक्ने बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न केन्द्रले बिहीवार सबै स्थानीय तहसँग सहजीकरण गरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

सरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ । ३१ गते शनिवार परेको छ । जेठ १ गतेदेखि शनिवार र आइतवार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतवार पनि विद्यालय बन्द हुनेछ ।

जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । यसरी देशभरका सरकारी विद्यालय ६ दिन बन्द हुने भएको छ ।

प्रतिक्रिया