भरतपुरपछि आज काठमाडौंमा गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्दै
अखबार टुडे
प्रकाशित:
२०७९, २३ बैशाख

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त चुनावी सभा आयोजना गर्दैछन् । शान्तिवाटिकामा दिउँसो १ बजे चुनावी सभा हुने दलका नेताहरुले बताएका छन् । चितवनको भरतपुरपछि काठमाडौैंमा गठबन्धनले संयुक्त चुनावी सभा गर्न लागेको हो ।

काठमाडौंमा हुने आजको सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले जानकारी दिए ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख शहरहरुमा चुनावी सभा गर्ने निर्णय यसअघि गठबन्धनका दलहरुले गरेका थिए । सोहीअनुसार बिहीबार चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा भएको थियो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले आवश्यकता अनुसार तालमेल पनि गरेका छन् ।

प्रतिक्रिया