
काठमाडौं, २२ बैशाख । नेपाली कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासित गरेको छ ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकालाई पार्टी सदस्यता समेत नरहने सूचित गराएका हुन् ।
नेपाली कांग्रेसले १९ वैशाखमा विज्ञप्ति जारी गरी बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो । तर उक्त आग्रह अस्वीकार गरेका बागीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निस्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकहरूको नामावली केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउनका लागि पार्टीको जिल्ला कार्यसमितिलाई यसै विज्ञप्तिमार्फत निर्देशानुसार अनुरोध गरिन्छ ।’
