गठबन्धनलाई जोगाएर जानुको विकल्प छैन : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २२ बैशाख

भरतपुर, २२ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनविपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् ।

बिहीबार चितवनको भरतपुरमा आयोजित गठबन्धनको संयूक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेकाले भरतपुरमा हँसिया हथौडामा मतदान गर्न आग्रह गरे ।

उनले भने, ‘तपाईँहरूले हँसिया हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईँहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।’

भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट खन्याइदिने’ आश्वासन दिएको दाबी गर्दै उनले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताए । उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको पनि बताए ।

चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई आफूले गम्भीर रुपमा लिएको बताउँदै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘जनआन्दोलन २०४६ मा रुख र हँसिया हथौडासँगै हिँड्नु हुँदैनथ्यो ? के २०६२–६३ को जनआन्दोलनको बेला रुख र हँसिया हथौडासँगै हिँडेको गलत थियो ?’

उनले अघिल्लो चुनावमा चितवनमा कांग्रेससँग गठबन्धन गर्दा रुखवालाले हँसिया हथौडामा भोट हाल्न नरुचाएका कारण शेरबहादुर देउवालाई सोधेर नै बाम गठबन्धनमा जान्छु भनी नढाँटीकन गएको बताए । बाम गठबन्धनमा गएपनि केपी ओली प्रवृतिको विरुद्ध लड्न १९ बुँदे पत्र आफूले दिएको उल्लेख गर्दै उनले भने, ‘चितवनवासीलाई गठबन्धन कमजोर नबनाउन आग्रह गर्दछु ।’

अध्यक्ष प्रचण्डले आफूलाई शंका नगर्न समेत आग्रह गर्दै गठबन्धनलाई दीर्घकालसम्म लैजाने बताए । ‘ममाथि शंका नगर्नुस् । युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोच विचार गरेरै बनाएका छौँ । यसलाई जोगाएर जानुको विकल्प छैन’, प्रचण्डले भने । विगतमा आफूले कांग्रेसलाई धोका नदिएको उनको भनाइ छ ।

साथै, भरतपुरको निर्वाचनलाई दुनियाँले हेरेको भन्दै भरतपुरमा गठबन्धनले अभूतपूर्व जित हासिल गर्नुपर्ने बताए । आफूविरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्र जारी रहेपनि जनताले उचित फैसला दिने उनको भनाइ छ । भरतपुर महानगरपालिकाले विकास र सुशासनमा रेकर्ड कायम गरेको भन्दै उनले रेनु दाहालको कामबाट सबैले गर्व गरेको बताए ।

प्रतिक्रिया