जे बोल्छौं त्यो गर्छौं, फेरि पनि हाम्रो जित सुनिश्चित छ: दाहाल
अखबार टुडे
प्रकाशित:
२०७९, २२ बैशाख

चितवन, २२ वैशाख । गठबन्धनका तर्फबाट भरतपुर महानगरका लागि मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुरलाई गर्व गर्न लायक महानगर बनाएको दावी गरेकी छन् ।

चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै दाहालले भने, ‘महानगरवासीको साझा जनप्रतिनिधिकारुपमा काम गरेँ । टाउको झुकाउनुनपर्ने गरी काम गरेँ । सडक पूर्वाधारको क्षेत्रमा ६२२ किमी सडक खण्ड निर्माण गरेका छौं । पौने ४ अर्बको खानेपानीका योजना अघि बढाएका छौं । नारायणी तटबन्धनको योजना अघि बढाएका छौं ।’

दाहालले युवालाई विदेश पलायनबाट रोक्न विदेशको सीप नेपालमा लगानी कार्यक्रम अघि बढाइएको बताइन् । शिक्षाको क्षेत्रमा भरतपुरका सामुदायिक विद्यालयको सवलीकरण गरिएको बताइन् । शिक्षामा १५ प्रतिशत बजेट पु¥याइएको बताइन् ।

‘साझा गठबन्धनको संयुक्त उम्मेदवार बनेको छु । रोजगारीको अवसर सृजना गर्न रोजगार बैंक स्थापना गर्ने हो । भरतपुरलाई आर्थिक विकासको केन्द्र बनाउने सोच छ,’ उनले भनिन्, ‘आश्वासनको पोका दिँदैनौ । जे बोल्छौं त्यो गर्छौं ।’

उनले इमान्दारितापूर्वक राम्रो गर्ने कोशिस गर्दा गर्दै पनि कहिलेकाहीँ अपुग भएको बताइन् । उनले भनिन्, ‘हाम्रो जित सुनिश्चित छ । सबै वडामा साझा गठबन्धनका उम्मेदवार तय गरेका छौं । हाम्रोमा विवाद छैन ।’

प्रतिक्रिया