पौडेललाई जगन्नाथको जवाफ, ‘म पछि हट्नलाई रेनु दाहालको उम्मेदवारी फिर्ता हुनुपर्छ’
अखबार टुडे
प्रकाशित:
२०७९, २२ बैशाख

चितवन, २२ वैशाख । स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान दोहो¥याएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुरस्थित आफू बसेकै होटलमा बोलाएर नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलाई स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
तर मेयरका उम्मेदवार पौडेलले आफू चुनावी अभियानमा होमिइसकेकाले पछि हट्न नसक्ने जवाफ दिएका हुन् ।

उनले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनलाई यहाँ कांग्रेसले मेयर पाउनुपर्ने अडान कायम राखेका छन् । पौडेलले भने, ‘यदि मैले पछि हट्नु पर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ । त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नु पर्छ । यदि त्यसो हुन्छ भने म पछि हट्न तयार छु ।’

‘मैले भनेर अब केही हुँदैन । यहाँ मेरो अघिपछि हजारौं कार्यकर्ता छन् । मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निणर्य फिर्ता लिनु उचित हुन्छ’, उनले थप भने, ‘म त चुनावी अभियानमा गइसकेको छु । अहिले पनि तपाईंलाई भेट्न चुनावी अभियानबाटै आएको हो । मलाई समय पनि छैन । म घर दैलो अभियानमा निस्किएँ, अब मलाई फिर्ता गर नभन्नु होला ।’

भरतपुरमा आज (बिहीबार) सत्ता गठबन्धनले गर्न लागेको संयुक्त चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच भेटवार्ता भएको हो । वार्तामा जगन्नाथसँगै, मीना खरेल र कृष्णलाल सापकोटा पनि सहभागी थिए ।

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट रेनु दाहाल उम्मेदवार भएपछि त्यसको विरुद्धमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टी निर्णय नमानेको भन्दै उनलाई कांग्रेसले कारबाही गरेको छ ।

प्रतिक्रिया