मारिऊपोलस्थित युक्रेन नियन्त्रित स्टिल उद्योगमा ‘पूर्णस्तर’को रुसी हमला
अखबार टुडे
प्रकाशित:
२०७९, २२ बैशाख

काठमाडौं, २२ बैशाख । रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि ‘कठिन रक्तपातपूर्ण लडाइँ’ गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्रमा प्रवेश गरेका हुन् । जहाँ बालबालिकासहित करिब २०० सर्वसाधारण उद्योगभित्र आश्रय लिएर बसिरहेको अनुमान गरिएको छ । स्टिल उद्योगमा रुसले हमला गरेको भन्ने विवरणहरू भने पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।

कमान्डर डेनिस प्रोकोपेन्कोले टेलिग्राममा एउटा संक्षिप्त भिडिओ राख्दै लेखेका छन्, ‘शत्रुको दबाब नियन्त्रणमा राख्न मेरा सेनाले मानवले गर्न सक्ने भन्दा ठूलो प्रयास गरिरहेको प्रति म गर्व गर्छु । यहाँको अवस्था निकै कठिन छ ।’

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसहरूको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्रसंघलाई थप अपिल गरेका छन् । ‘हाम्रा लागि सबै महत्वपूर्ण छन् । तिनीहरूलाई जोगाउन हामी तपाईँसँग मद्दत माग्छौँ’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरससँग फोनमा कुरा गर्दै जेलेन्स्कीले भने ।

बीबीसीले जनाएअनुसार युक्रेनी नेताले यसै साता मानिसहरूको उद्धार गरी सफलतापूर्वक अन्यत्र लगेकोमा संयुक्त राष्ट्रसंघ र रेडक्रसलाई धन्यवाद दिएका छन् ।

यसैबीच युक्रेनका उपप्रधानमन्त्रीले मारिऊपोलसहित दक्षिणपश्चिम सहरका ३४४ लाई उद्धार गरेर बुधबार तुलनात्मक रूपमा सुरक्षित मानिएको जापोरिझिया सहर लगिएकव बताएकी छन् । उक्त सहर अझैसम्म युक्रेनी नियन्त्रणमै रहेको छ ।

प्रतिक्रिया