कपिलवस्तु, २१ वैशाख । म्यादी प्रहरीको बर्दी लगाएर ‘सागर बसन्ते किस्नेहरू अब नडरा ! किन डराछस् । अब तेरो दाई मिदी भइसक्या छ नी त ।’ भन्दै केही दिनदेखि फेसबुक सामाजिक सञ्जालमा भाइरल एक जना युवकलाई प्रहरीले नियन्त्रण लिएको छ ।
भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् ।
तर म्यादीको पोशाक लगाएर भिडियो बनाएर भाइरल हुने ती युवकले अर्काको पोसाकबाट भिडियो बनाएर खुलेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने दाई नाता पर्ने १९ वर्षीय पुरन भट्टराई रहेको बताए । उनले ड्रेस उपलब्ध गराउनेलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । उनी रेग्मीको फुपुको छोरा भएको प्रहरीले जनाएको छ ।
कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ ।