युक्रेन युद्धको प्रभाव: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन कार्यक्रमबाट बाहिरिने रुसको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २१ बैशाख

काठमाडौं, २१ वैशाख (एजेन्सी) । रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट बाहिरिने निर्णय गरेको छ । देशको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका नेताले एक मिडिया अन्तर्वार्तामा उक्त खुलासा गरेका हुन् ।

स्पेस एजेन्सी रोसकोमसका महानिर्देशक दिमित्री रोगोजिनले रुसको सरकारी समाचार एजेन्सी टाससँगको अन्तर्वार्तामा अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) बाट बाहिरिने निर्णय भइसकेको बताए ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी यसबारे सार्वजनिक रूपमा कुरा गर्न बाध्य छैनौं । म यति मात्र भन्न सक्छु कि हामी हाम्रा साझेदारहरूलाई ‘आईएसएस’मा हाम्रो कामको अन्त्यको बारेमा एक वर्ष पहिले चेतावनी दिनेछौं ।’

उनले रूसले अब आफ्नो कक्षीय सेवा स्टेशन तैनाथ गर्न चाहेको संकेत गरे । स्मरण रहोस् सन् १९९८ मा रुस यस मिसनसँग जोडिएको थियो ।

तर रुस ‘आईएसएस’बाट कहिले अलग हुनेछ भन्ने बारे कुनै समयसीमा भने खुलासा गरिएको छैन । यद्यपि, रसियाले रूसी अर्बिटल सेगमेन्ट (आरओएस) लाई कायम राख्न केही समयको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहनेछ ।

रुसले युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका, युरोपेली युनियन लगायतले कडा प्रतिबन्ध लगाइरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट तथा अनुभवी नेता रोगोजिनले यसअघि पनि यस्ता धम्कीपूर्ण अभिव्यक्ति दिंदै आएका छन् ।

युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दिन २४ फेब्रुअरीमा उनले एक ट्वीट गर्दै अमेरिकाले रुसमाथि कुनै प्रतिबन्ध लगाएमा स्पेस स्टेशन सञ्चालनका लागि भैरहेको नासा र रोसकोमसबीचको सहकार्य भंग हुने चेतावनी दिएका थिए ।

रुसले सन् २०१५ मा सन् २०२४ सम्म आइएसएसको हिस्सा बन्ने घोषणा गरेको थियो । त्यसपछि रुसले सन् २०२४ पछि रुसी मोड्युललाई आइएसएसबाट अलग गरी पृथ्वीको तल्लो कक्षमा आफ्नै स्पेस स्टेशन बनाउने बताएको थियो ।

आईएसएस कार्यक्रमले अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष अन्वेषणमा मद्दत गर्छ । यो एक क्षेत्र हो जहाँ अमेरिका र रुसले आफ्नो कमजोर सम्बन्धको बाबजुद सहयोग गरेका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मार्चमा युक्रेन र रुसबीचको युद्धले आईएसएस कार्यक्रमलाई असर नगर्ने बताएको थियो । यस युद्धको बीचमा, तीन रूसी अन्तरिक्ष यात्री ओलेग आर्टेमेयेभ, डेनिस माटवेयेभ र सर्गेई कोर्साकोभ आईएसएसमा गए ।

यद्यपि, गत महिना मात्र रोगोजिनले आईएसएस कार्यक्रममा रुसको योगदान अन्त्य गर्ने धम्की दिएका थिए । रूस र अमेरिका बाहेक, आईएसएस कार्यक्रममा युरोप र क्यानडा पनि सामेल छन् ।

प्रतिक्रिया