रुसद्वारा सर्वसाधारणको उद्धारकार्य नसकिँदै मारिउपोलको स्टिल उद्योगमा पुनः हमला
अखबार टुडे
प्रकाशित:
२०७९, २० बैशाख

काठमाडौं, २० बैशाख (एजेन्सी) । युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताएका छन् ।

यसैबीच रुसले पुनः हमलाहरु थालेको उनले जानकारी दिए । राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताए ।

आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका बताइएको छ । तर पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताए ।

सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताएका हुन् । युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो ।

सोमवार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो । यस आगलागिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् ।

प्रतिक्रिया