स्थानीय तह निर्वाचन : हालसम्म ३५३ जनामध्ये सत्ता गठबन्धनका १९० निर्विरोध
अखबार टुडे
प्रकाशित:
२०७९, २० बैशाख

काठमाडौं, २० बैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकामध्ये हालसम्म ३ सय ५३ जना निर्विरोध भएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार सोमबारसम्म विभिन्न पदमा गरी उनीहरु निर्विरोध भएका हुन् ।

बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनमा यसपटक सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका गठबन्धन चुनावी मैदानमा छन् । त्यसबाहेक केही दल र स्वतन्त्रले पनि स्थानीय तहमा उम्मेदवारी दिएका छन् ।

निर्विरोध हुने सत्तागठबन्धनका उम्मेदवार बढी छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा सत्तागठबन्धनबाट एक सय ९० जना निर्विरोध भएका छन् । जसमा नेपाली कांग्रेसले १०१ पदमा जितेको छ भने नेकपा माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले ३४ र जसपाले एक पदमा निर्विरोध भएको आयोगले जनाएको छ ।

यस्तै, प्रतिपक्ष गठबन्धनबाट नेकपा एमाले १ सय २३ पदमा निर्विरोध भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएको थियो । यसपालि विभिन्न ३५ हजार दुई सय २१ पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया