भारतीय प्रधानमन्त्री बुद्ध पूर्णिमाका दिन नेपाल आउँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २० बैशाख

काठमाडौं, २० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदी यही जेठ २ गते पर्ने बुद्ध पूर्णिमाका दिन नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भारतीय पत्रिका द हिन्दुका अनुसार उनी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने छन् । हिन्दुका अनुसार एक महिनाअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय कुरा नहुने उल्लेख छ ।

मोदीको भ्रमणका लागि दुबै देशका अधिकारीहरूले व्यवस्था मिलाइरहेका छन् । नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन् ।

भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट हालै सञ्चालनमा आउको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउने जनाइएको छ ।

युरोपको भ्रमणको क्रममा रहेका भारतीय प्रधानमन्त्री मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि यो पहिलो नेपाल भ्रमण हुनेछ । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया