
काठमाडौं, १९ वैशाख । चुनावी अभियानका क्रममा ‘मतदाताको खुट्टा ढोगेर दाम चढाएको’ तस्वीर भाइरल भएपछि सिन्धुपाल्चोकस्थीत मेलम्ची नगरपालिका वडा नं. १० का उम्मेदवार अमृत खनालले आफ्नो बचाउ गरेका छन् ।
नेपाली कांग्रेसबाट उक्त वडाका वडाध्यक्ष पदका उम्मेदवार खनालले चुनावी प्रचार प्रसार गर्न घरदैलो जाने क्रममा आफ्नी फुपूको घरमा पुगेर फुपुको खुट्टा ढोगेको हुँ भन्दै बचाउ गरेका हुन् ।
उनले चुनावको समयमा भ्रम छर्न विपक्षीले विभिन्न आरोप लागाउनु कुनै नौलौ कुरा नभएको बताए । तर उनले फुपुको खुट्टा ढोगेको र पैसा पाउमा चढाएको उनी भने स्वीकार गरेका छन् ।
उनले भनेका छन्, ‘ म मेलम्ची वडा नं. १० का कांग्रेस पार्टीबाट उम्मेदवारको रुपमा चुनाव अभियानसहित घरदैलो कार्यक्रमा फुपूको घर पुग्दा आशिर्वाद लिएको हुँ । फुपूले आशिर्वाद दिएपछि मेरो परम्परा अनुसार खुट्टा ढोग्दै दिदीलाई दक्षीणा दिनु गलत हो ? मेरो परम्पराले फुपूले टिका लगाएपछि खाली हात राख्दैन । तपाँई आफ्नो घरको परम्परा र संस्कृति सम्झनुहोस् ? म एक हिन्दु धर्मप्रति आस्था राख्ने व्यक्तिको लागि के यो गलत परम्परा हो ? आफ्नो फुपू बाहेक अन्यत्र कतै पैसा दिएको प्रमाण दिन सक्छ कसैले ?’
खनालले फूपू मेलम्ची नगरपालिका वडा नं १० को मतदाता नभएको बताए । सामाजिक सञ्जाल र मिडियामार्फत उनको खुट्टा ढोगिरहेको तस्वीर भाइरल भएको थियो । त्यसपछि उनले आफ्नो फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन् ।
