स्थानीय तह निर्वाचन : आचारसंहिता पालना नगर्नेको उम्मेदवारी रद्द गरिदिने आयोगको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९ बैशाख । निर्वाचन आयोगले आचारसंहिता उग्लघन गरे उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएको छ ।

सोमबार प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।’

आचारसंहिताविपरीत यस्ता कामहरू भइरहेको भन्ने गुनासो आएपछि आयोगले विज्ञप्ति जारी गर्दै नियमअनुसार एक लाखसम्म जरिवाना वा उम्मेदवारी समेत रद्द गर्ने जनाएको हो ।

‘कुनै उम्मेदवारले आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको सरोकारवालाहरूलाई स्मरण गराइन्छ’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया