महानिरीक्षक सिंह र अर्यालले लगाए फुली, एआईजी पोखरेल र थापा असन्तुष्ट
अखबार टुडे
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९ बैशाख । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आज गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरीद्वय सिंह र अर्याललाई दर्ज्यानी चिह्न अर्थात फुली लगाइदिएका हुन् ।

अर्याल र सिंहलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । दुवै महानिरीक्षकले नियुक्तिसँगै कार्यभार सह्मालेका छन् । सिंह २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएको थियो । यस्तै अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।

बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ । रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

सिंहको बढुवामा एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने उनीहरुको तयारी छ ।

प्रतिक्रिया