गठबन्धनको निर्णय उल्टाउँदै जाजरकोटमा नयाँ शिराबाट चुनावी तालमेल
अखबार टुडे
प्रकाशित:
२०७९, १९ बैशाख

जाजरकोट, १९ बैशाख । जाजरकोटमा सत्ता गठबन्धन दलभित्रका नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिएकाहरूको उम्मेदवारी रद्द गराउँदै नयाँ शिराबाट तालमेल अघि बढाइएका छन् ।

आइतबार जाजरकोटका तीन पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नयाँ चुनावी तालमेल गर्ने सहमति भएको हो । दुई पार्टीबीच भेरी, नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको कांग्रेस जिल्ला सभापति वेदराज सिंहले बताए ।

यसअघि भएको गठबन्धन दलको निर्णयले भेरी नगरपालिकामा नेकपा एकीकृत समाजवादी मेयर र कांग्रेस उपमेयर भन्ने थियो । तर, सहमति जुट्न नसकेपछि बाँकी रहेका स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएपछि एकीकृत समाजवादी ब्याक भएको छ ।

अब भेरी नगरपालिकामा माओवादी केन्द्रको मेयर, कांग्रेसको उपमेयर, नलगाड नगरपालिकामा माओवादी केन्द्रको मेयर र नेपाली कंँग्रेसको उपमेयर र शिवालय गाउँपालिकामा कांग्रेसको अध्यक्ष र माओवादी केन्द्रको उपाध्यक्ष बनाउने सहमति भएको छ ।

नलगाडको मेयरका लागि माओवादीका डम्बर रावत र उपमेयरका लागि कांग्रेसका सरिता सिंह आधिकारिक उम्मेदवार भएका छन् । यस्तै, कांग्रेसबाट मेयरका उम्मेदवार छवि पन्तको उम्मेदवारी पार्टीले रद्द गरिएको सिंहको भनाइ छ ।

यसअघि भेरी नगरपालिकामा पनि कांग्रेसबाट मेयरका उम्मेदवार कृष्ण शर्माको उम्मेदवारी रद्द गरिएको छ भने दुई दलका साझा उम्मेदवारको रूपमा माओवादीका गगनबहादुर खड्का र उपप्रमुखमा कांग्रेसकी सीता जैशी अधिकारी आधिकारिक उम्मेदवार बनेका छन् ।

यस्तै, शिवालय गाउँपालिकामा अब गठबन्धनबाट कांग्रेसका शेरबहादुर शाही अध्यक्ष र माओवादीका गीता शाही उपाध्यक्षका उम्मेदवार बनेका छन् । यसअघि माओवादीबाट अध्यक्षका उम्मेदवार गोपाल घर्ती र उपाध्यक्षका उम्मेदवार धनरूपी थापा मगरको उम्मेदवारी रद्द गरिएको छ ।

यसअघि गठबन्धनको निर्णयअनुसार बारेकोट गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष र नेकपा माओवादी केन्द्र उपाध्यक्ष, जुनीचाँदे गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष र कांग्रेस उपाध्यक्ष, छेडागाड नगरपालिकामा कांग्रेस मेयर र नेकपा माओवादी केन्द्र उपमेयरमा भागबण्डा मिलाइएको छ ।

यस्तै, कुशे गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । जहाँ एकीकृत समाजवादी अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष पाउने भएको छ । भेरी नगरपालिकामा भने केन्द्र र प्रदेशले गरेको निर्णय उल्ट्याउँदै कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएपछि एकीकृत समाजवादी आउट भएको हो ।

प्रतिक्रिया