धिरजप्रताप नेपाल प्रहरीको आईजीपीमा र अर्याल सशस्त्र प्रहरीको एआईजीमा नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, १८ बैशाख

काठमाडौं, १८ वैशाख । सरकारले नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजी) मा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको हो ।

यसअघि गृहमन्त्री बालकृष्ण खाँणले वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । तर, अन्तिममा प्रधानमन्त्री शेरबहादुर देउवाकै अडानमा सिंह आईजीपीमा नियुक्त भएको बताइएको छ ।

सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आईजी बनाएको हो ।

सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

यस्तै, आइतवारको मन्त्रि परिषद्को बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक (एआईजी) मा राजु अर्याललाई नियुक्त गरेको छ । सरकारले अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । सशस्त्रमा अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।

प्रतिक्रिया