उषा राईको ‘आरयु क्रियशन’ उद्घाटनपछि दर्पणले भने- ‘मेरो बिहेको लुगा यही अर्डर गर्छु’
अखबार टुडे
प्रकाशित:
२०७९, १८ बैशाख

काठमाडौं, १८ बैशाख । ललितपुरको इमाडोलमा नयाँ बुटिक सञ्चालनमा आएको छ । बुटिकको संख्या बढिरहेका बेला फेसन डिजाइनर उषा राईले इमाडोलमा ‘आरयु क्रियशन हाउस’ सञ्चालनमा ल्याएका हुन् । उक्त बुटिकको शनिबार अभिनेत्री तथा गायिका विष्णु चेम्जोङ, चर्चित गीतकार तथा मोडल दर्पण राई, कोरियोग्राफर विपना थापा र गायिका सुजिता योञ्जनले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरे ।

बुटिक उद्घाटनपछि अभिनेत्री विष्णुले आफू फेसनेवल नभएपनि बुटिकको संख्या थपिनु खुसीको कुरा भएको बताइन् । ‘म खाशै फेसनमा ध्यान दिन्न, त्यसैले बुटिक पनि त्यति धाउँदिन’ विष्णुले भनिन्, ‘तर, बजारमा फेसन हाउस र बुटिकहरु थपिनु खुसीको कुरा हो, जसले फेसन पारखीहरुको फेसनप्रतिको इच्छा र रुचीलाई पूरा गर्दै आएका छन् ।’ उनले पछिल्लो पुस्ताका युवा फेसन कन्सस भएकाले बुटिकको भविष्य राम्रो रहेको भन्दै फेसन डिजाइनर एवं आरयु क्रियशन हाउस’की सञ्चालन उषा राईलाई शुभकामना दिइन् ।

यस्तै, गीतकार दर्पण राईले आफू फेसन कन्सेस भएर पनि पुरुषलाई भन्दा महिलाका लागि बुटिक आवश्यक रहेको बताए । बुटिकको उद्घाटनपछि दर्पणले भने, ‘पुरुषलाई भन्दा महिलाका लागि बुटिक आवश्यक छ किनकि हामीलाई भन्दा महिलाहरुलाई राम्रो बन्नुपर्छ ।’

गीतकार दर्पणले आफूले बुटिकको लुगा लगाएपनि फेसनप्रति रुची भएकाले आफ्ना विवाहमा चाहिँ जसरी पनि आरयु क्रियसन हाउसकै लुगा लगाउने बाचा गरे । म्युजिक भिडियो निर्देशकसमेत रहेका ब्याचलर गीतकार दर्पणले भने, ‘मेरो विवाहमा चाहिँ आरयु क्रियसनकै ड्रेस लगाउने छु । यो मेरो बाचा नै भयो ।’

सहरमा मात्र नभएर गाउँघरमा समेत फेसनेवल युवाको संख्या बढिरहेकाले बुटिक अहिलेको राम्रो व्यवसायी भएको उनको भनाइ छ । ‘अहिलेका युवा नयाँ नयाँ क्रियसनको पहिरन रुचाउँछन् । जुन बुटिकहरुले पूरा गर्दै आएका छन्’ उनले भने, ‘त्यसैले बुटिक खोल्नु राम्रो हो । सहरमा मात्र नभएर बुटिकहरु सोलुतिर पनि खोलिनुपर्छ ।’ आरयु क्रियसनकी सञ्चालक उषा सोलुकी भएकाले दर्पणले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ रियालिटी शोमार्फत गायनमा उदाएकी सुजिताले उषा राईलाई शुभकामना दिँदै भनिन्, ‘फेसनको बजार बढिरहेका बेला आरयु क्रियसन थपिएको छ । यो खुसीको कुरा हो । फेसन पारखीहरुको माग यो बुटिकले पूरा गर्न सकोस्, शुभकामना छ ।’

फेसन डिजाइनर उषाको राईको यो पहिलो अनुभव हो । यसअघि विभिन्न व्यवसायी गर्दै आएकी उषाले आईआईएफटीबाट फेसन डिजाइनरमा डिप्लोमा गरेपछि बुटिकमा हात हालेकी हुन् । उनले भनिन्, ‘पहिलोपटक फेसन डिजाइनर सिकेर बुटिक खोलेकी हँु । तर, नयाँ भए पनि ग्राहकको चाहना र डिमाण्डलाई पूरा गर्ने प्रयास गर्नेछु ।’

बजारमा चलिरहेको फेसन ट्रेण्डलाई आफूले पनि फलो गर्ने बताउँदै उनले भनिन्, ‘सकेसम्म आफ्नै क्रियसन बेच्नेछु । त्यसबाहेक ग्राहकको चाहनाअनुसारको पहिरन तयार गर्नेछु ।’ उनले अन्य बुटिक तथा फेसन हाउसहरुभन्दा सुलभ र स्तरिय पहिरन उपलब्ध गराउन प्रयत्न गर्ने समेत बताइन् । ‘थोरै मार्जिन राखेर ग्राहकलाई पहिरन उपलब्ध गराउने मेरो उद्देश्य हो’ उनले भनिन्, ‘साथै, म्युजिक भिडियो, फोटोसुट र फिल्मका लागि समेत भाडामा लुगा उपलब्ध गराउने सोच बनाएकी छु ।’

कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशन तेन्जिङ शोर्पालगायत विभिन्न फेसन पारखीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया