काठमाडौं, ६ वैशाख । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको प्रति आफ्नो गम्भिरध्यानकर्षण भएको जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता उक्त सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको छ ।
आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ ।
संविधान र कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार रहेको भन्दै आयोगले उम्मेदवारलाई धाक, धम्की र प्रलोन दिनु लोकतन्त्रमाथिकै आघात भएको बताएको छ ।
उम्मेदवार वा तिनका परिवारलाई धम्की दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको सहमति विपरीत कांग्रेसका जगन्नाथ पौडेलले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ ।
यसरी गठबन्धनमा आबद्ध दलहरूले स्वतन्त्र उम्मेदवारी फिर्ता नगरे स्वतःनिष्काशित गर्ने, पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय जस्ता दबाब दिइरहेको खबरहरु सार्वजनिक भएको बेला आयोगको यस्तो विज्ञप्ति आएको हो ।