राष्ट्रसंघ प्रमुखको भ्रमणका क्रममा रुसी हमला
अखबार टुडे
प्रकाशित:
२०७९, १६ बैशाख

काठमाडौं, १६ वैशाख (एजेन्सी) । युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ ।

‘हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र आक्रमणमा मारिएका एक व्यक्तिको अवशेष फेला पारेका छन्,’ कीभका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत जनाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच बिहीबार भेटवार्ताका क्रममा पछिल्लो समय युक्रेनी सहर मारिउपुलबाट यहाँका नागरिकको उद्धार गर्ने बारेमा कुराकानी भएको बताइएको छ ।

रुसले आक्रमण गरेका कारण युक्रेनको अवस्था अहिले कमजोर भएको बताइएको छ । हाल रुसले राजधानी किभमा आक्रमण रोके पनि मारिउपुल लगायतका कतिपय सहरमा भने आक्रमण जारी राखेको छ ।

मारिउपुलका नागरिकको उद्धार गरी यहाँ मानवीय सहायता उपलब्ध गराउनुपर्ने अवस्था रहेको र यस कार्यमा संयुक्त राष्ट्रसंघीय महासचिवको संलग्नताले आफूहरुलाई निकै सजिलो बनाउने अनुभव युक्रेनी राष्ट्रपतिले सुनाएको बताइएको छ ।

प्रतिक्रिया