२ किलो ३५० ग्राम सुन तस्करीको प्रयास, कर्मचारीसहित ५ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १६ बैशाख

काठमाडौं, १६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ किलो ३ सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ ।

दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमानभित्र शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तीन जना कर्मचारीसहित पाँच जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर याङवरक गाउँपालिका–४ का २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका–५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका–२ का ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरूंगा नगरपालिका–४ का ३६ वर्क्षीय ताराकान्त चौधरी रहेको जनाइएको छ ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार तामाङ, अवाले र चौधरी हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी हुन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् । उनीहरुले हिमालय एयलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका बताइएको छ ।

माबोले बिमानको शौचालय भित्र फोहरसँगै फेला पारेका सुनका विस्कुटहरू बाहिर फोहोर जम्मा गर्ने स्थानमा आएर उनीसँगै काम गर्ने सुमन तामाङसँग बाँडेका थिए ।

त्यसपछि सुनका बिस्कुट आ–आफ्नो मनि पर्समा लुकाएर विमानस्थलको फलामे गेटहुँदै बाहिर निस्कने क्रममा स्क्रिनिङ गर्दा दुबैको साथबाट समान १०–१० वटा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबैको साथबाट समान ११६६ ग्राम सुन फेला परेको हो ।

उनीहरूलाई नियन्त्रणमा लिएर बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया