बागी उम्मेदवारी फिर्ता लिन र अन्य दलसँगको तालमेल तत्काल खारेज गर्न निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, १६ बैशाख

काठमाडौं, १६ वैशाख । पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनमा आबद्ध पाँच दलहरूको बैठकले महानगर र उपमहानगरका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

यस्तै, केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको सहमति विपरीत कांग्रेसका जगन्नाथ पौडेलले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ ।

पत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया