विद्रोही उम्मेदवार स्वतः निष्काशित हुने कांग्रेसको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, १६ बैशाख

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गरेको छ ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया