काठमाडौं, १५ बैशाख । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् ।
बिहीबार वायुसेवा सञ्चालक संघ (एओन)ले विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफूहरुलाई मान्य नहुने जनाएको छ ।
क्यानले बुधबार पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवासमेत हुने गरी उडान सेवा सञ्चालन गर्न नयाँ स्लट पठाएको थियो । तर, उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्ध वायुसेवा कम्पनीहरु बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले निर्णय तत्काल सच्याउन र यसअघिको ३ वैशाखकै उडान स्लट कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
यदि यसो नगरिए शुक्रबार अर्थात १६ वैशाखदेखि सम्पूर्ण उडान बन्द गरेर आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् ।