रुस-युक्रेन युद्धमा कुनै देशले हस्तक्षेप गरे बिजुलीको गतिमा प्रतिक्रिया दिने पुटिनको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, १५ बैशाख

काठमाडौं, १५ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले ‘बिजुलीको गतिमा’ प्रतिक्रियाको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

पुटिनले बुधवार रुसको उत्तरी सहर सेन्ट पिटर्सबर्गमा सांसद्हरूसँग बोल्दै पछिल्लो चेतावनी दिएका हुन् ।
उनले भने, ‘यदि बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न प्रयास गर्छ र रुसमाथि रणनीतिक खतरा उत्पन्न गर्छ भने हामी बिजुलीको गतिमा त्यसको प्रतिक्रिया दिनेछौँ ।’

युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो ।

अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन् । पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले बाधा पु¥याएको बताएका छन् ।

उनले थप भनेका छन्, ‘हामीसँग सबै खाले उपकरण छन्, कसैले घमण्ड नगरे हुन्छ । र, हामी त्यसबारे घमण्ड गरिरहेका छैनौँ यदि आवश्यक भएमा हामी तिनीहरूको प्रयोग गर्नेछौँ ।’

उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको बीबीसीले जनाएको छ । उनले ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको बताए । तर त्यसबारे विस्तृत रूपमा खुलाएनन् ।

विश्लेषकहरूका अनुसार युक्रेनका साझेदारहरूलाई उक्त द्वन्द्वमा थप हस्तक्षेप नगर्नका निम्ति चेतावनी दिन पुटिनले त्यस्तो धम्की दिएको ठानिएको छ ।

पश्चिमा देशहरूले जर्मनीमा एउटा सम्मेलन गरेर युक्रेनलाई दिइने सैन्य सहायता बढाउने प्रतिबद्धता जनाएको भोलिपल्ट पुटिनले उक्त चेतावनी दिएका हुन् ।

यसैबीच युरोपेली आयोगले रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ । आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले उक्त घटनाले आपूर्तिकर्ताका रूपमा रुसको अविश्वसनीयतालाई देखाउने बताए ।

क्रेम्लिनले पश्चिमा राष्ट्रहरूको ‘शत्रुतापूर्ण व्यवहार’का कारण आफू त्यस्तो कदम चाल्न बाध्य भएको दाबी गरेको छ । रुसी रुबलमा भुक्तानी दिन अस्वीकार गरेपछि रुसी ग्यास कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति बन्द गरेको छ ।

प्रतिक्रिया