वृद्ध भत्ताको सुरुवात हामीले गरेका हौं, ओली गुटको कुनै भूमिकै थिएन: माधव नेपाल
अखबार टुडे
प्रकाशित:
२०७९, १५ बैशाख

काठमाडौं, १५ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले नभई आफूहरुले गरेको दाबी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । हामीले नै अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेका हौं,’ ।

उनले वृद्ध भत्ताको सुरुवात गर्दा एमाले अध्यक्ष केपी ओली गुटको कुनै भूमिकै थिएन बताए । उनले भने, ‘त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो ।’

ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको उनको आरोप छ । ‘केपी ओली भएका बेला उनले पनि केही काम गरे,’ नेपालले भने, ‘यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने काम गरे । उनले लुट्ने, चुस्ने काम गरे । देश र जनताको सेवा गर्ने काम हामीले ग¥यौं । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले ग¥यौं ।’

नेपलले ओलीलाई ‘गफाडी नम्बर १’को पनि संज्ञा दिए । अध्यक्ष नेपालले भने, ‘गफाडी नम्बर १ उनी, काममा अत्यन्तै फास्ट हामी । यही हो दुईटामा रहेको फरक । हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेमानी र जालझेलको राजनीति गर्ने मान्छे ।’

प्रतिक्रिया