यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत, आयात २० खर्ब रुपैयाँ पुग्ने अनुमान
अखबार टुडे
प्रकाशित:
२०७९, १५ बैशाख

काठमाण्डौं, १५ वैशाख । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

केन्द्रीय तथ्यांक विभागले आज पत्रकार सम्मेलन गरेर चालुु आर्थिक वर्षको पहिलो नौ महिनाको तथ्याङ्क विश्लेषणका आधारमा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योगको वृद्धिदर १०.३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत हुनेछ ।

अर्थ मन्त्रालयले यो वर्ष सात प्रतिशत वृद्धिदरको लक्ष्य राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चार दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

यसैबीच, यो आर्थिक वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन जीडीपी साढे ४८ खर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुग्ने विभागले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्षका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३ सय ७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने विभागको प्रक्षेपण छ । यस्तै, चालु आर्थिक वर्षमा आयात २० खर्ब र निर्यात ३ खर्ब २० अर्ब रुपैयाँ पुग्ने पनि विभागले अनुमान गरेको छ ।

प्रतिक्रिया