शुक्रबार अपरान्ह ५ बजेभित्र स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, १५ बैशाख

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूलाई फिर्ता हुन अपिल गरेका छन् ।

बिहीबार वक्तव्य जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु । तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

प्रधानमन्त्री देउवाले स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता ताथ कार्यकर्तालाई निर्वाचन आयोगले तोकेको समय शुक्रबार अपरान्ह ५ बजेभित्र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

प्रतिक्रिया