ललितपुरबासीसँग उज्ज्वलकृष्ण श्रेष्ठको आग्रह- ‘जिताइदिनुस्, प्रतिवद्धता काम गरेरै देखाउने छु’
अखबार टुडे
प्रकाशित:
२०७९, १४ बैशाख

काठमाडौं, १४ बैशाख । कुनै बेला जनतालाई लाग्थ्यो, ‘देश र समाजको विकाशका लागि ठूला दल, ठूलै नेता चाहिन्छ ।’ तर, अहिले त्यस्तो अवस्था छैन । नेताभन्दा जनता कम छैनन् । त्यसैले अब ठूला दलभन्दा पनि उनीहरुलाई काम गर्ने नेताको चाहिएको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेताहरु जनताका घरदैलो चिहार्न थालेका छन् । यही मौकामा जनताले नेताहरुलाई प्रश्न तेर्साउन थालेका छन्, ‘अहिलेसम्म देश र जनताका लागि के गर्यौं ?

विवेकशील साझा पार्टीबाट ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार उज्ज्वलकृष्ण श्रेष्ठ यस्तै अनुभव सुनाउँछन् । मेयर पदमा उम्मेदवारी दिएसँगै ललितपुरबासीसँग मत मागिरहेका उज्ज्वलकृष्ण भन्छन्, ‘केही दिनको अनुभवमा मलाई लाग्यो, जनतालाई काम गर्ने व्यक्ति चाहिएको छ, नेता होइन । जनताको चाहना र आकांक्षाअनुसार विवेकशील साझा पार्टीको एजेण्डा मिलेको छ ।’

समाजसेवी एवं व्यवसायीसमेत रहेका उज्ज्वलकृष्ण भन्छन्, ‘कमाउनका लागि त व्यापार गर्नुपर्छ । राजनीति भनेको समाजसेवा हो । जनताले देशको विकास र परिवर्तन चाहेका छन् । त्यसैले उनीहरु काम गर्ने युवाको नेतृत्व चाहन्छन् ।’

विवेकशीलले बोकेको मुख्य उजेण्डा पनि यही हो । ‘विवेकशील साझा पार्टीको मुख्य एजेण्डा नै भ्रष्टाचारमुक्त समाजको परिकल्पना हो’ उनले भने । पार्टीको एजेण्डाअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन र सुलभ सेवाप्रवाह, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वद्र्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण तथा नदी नालाको सफाई र व्यवस्थित पार्किङ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतका चुनावी नारा बोकेर ललितपुरबासीसँग मेयरका लागि मत माग्न व्यस्त उज्जवलकृष्णले भने, ‘म र मेरो पार्टी एजेण्डा पूरा गर्न प्रतिवद्ध छ ।’

उम्मेदवारी दर्ता गरेसँगै चुनावी प्रचारमा जुटेका श्रेष्ठले भने, ‘मैले गर्नै नसकिने ठूला ठूला सपना देखाउँदिन । तर, म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु ।’ ललितपुरमा लोकप्रिय उज्ज्वकृष्ण विवेकशील साझा पार्टीका सक्रिय नेतासमेत रहेका उनके ललितपुरबासीसँग आग्रह छ, ‘मलाई एकपटक जिताइदिनुस्, अहिले गरेका प्रतिवद्धता म काम गरेरै देखाउँछु ।’

प्रतिक्रिया