नेपालगञ्ज, १४ वैशाख । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् ।
उपमहानगरपालिका-१ मा फरक-फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् ।
कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेको सचिव छन् ।
विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन् । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए ।
त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको हो ।
माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उनीसँग ६५ मतले पराजित भएको थियो । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षका लागि भिड्दै छन् ।
जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।