विप्लवले पार्टीको जिम्मेवारीबाट पदमुक्त गरे ओली र बाँस्तोलालाई
अखबार टुडे
प्रकाशित:
२०७९, १४ बैशाख

काठमाडौं, १४ वैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ ।

बुधबार पार्टी महासचिव चन्दले एक विज्ञप्ति जारी गर्दै सचिवालय सदस्यद्वय वली र बाँस्तोलालाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जनाएको हो ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘बैठकका निर्णय र नेतृत्वकाविरूद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गर्नुभयो’ ।

दुई पटक बैठक बसेर पार्टीले पारित गरेका निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने निर्णय गरिए पनि बाहिर उनीहरूले फुटपरस्त र अराजक अन्तवार्ता दिएको आरोप छ ।

विप्लव नेतृत्वको नेकपामा स्थानीय चुनावमा सहभागी हुने/नहुनेबारे विवाद थियो । चैत पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्न सकेको थिएन । विप्लवसहित केही नेताहरू चुनावमा सहभागी हुनुपर्छ भन्नेमा थिए भने धर्मेन्द्र र हेमन्तप्रकाशलगायत नेताले चुनावमा भाग लिन नहुने धारणा राखेका थिए ।

पार्टीले औपचारिक निर्णय गर्न नसकेपछि विप्लवका नेता÷ कार्यकर्ताले रोल्पा, दाङ लगायत जिल्लामा स्थानीय चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सचिवालय सदस्य धर्मेन्द्रले त्यसरी उम्मेदवारी दिएकाहरूलाई कारबाही गर्ने भन्दै विज्ञप्ति निकालेका थिए । दुवै जनालाई अनश्चित समयका लागि जिम्मेवारीबाट मुक्त गरिएको छ । उनीहरु छिट्टै पार्टी घोषणा गर्ने तयारीमा छन् ।

प्रतिक्रिया