रुसले पोल्यान्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १४ बैशाख

काठमाडौं, १४ वैशाख । रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने भएको छ ।

रुसले मित्रवत् व्यवहार नगर्ने देशहरूले कि रुबलमा ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने नभए आपूर्ति कटौती गर्ने बताएपछि यस्तो अवस्था उत्पन्न भएको हो ।

पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको छ । यस्तै, बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको छ ।

दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन् । पीजीएनआईजी अधिकांश ग्यास आयातका लागि ग्याजप्रोममा निर्भर छ । पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलाई सम्झौताको उल्लङ्घनका रूपमा वर्णन गरेको छ र ग्यास आपूर्तिलाई पुनर्स्थापित गर्न कदम चाल्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

बुल्गेरिया पनि ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको छ । बुल्गेरियाले वैकल्पिक स्रोतहरू खोज्न कदम चालेको तर ग्यास खपतमा तत्काल कुनै खाले प्रतिबन्ध आवश्यक नभएको बताएको छ ।

युरोपेली सङ्घमा आयात हुने कुल प्राकृतिक ग्यासमध्ये रुसबाट हुने आपूर्तिले करिब ४० प्रतिशत हिस्सा ओगट्छ । यद्यपि युक्रेनमाथिको आक्रमणको जवाफमा धेरै देशहरूले रुसी ऊर्जा निर्भरताबाट टाढिने वाचा गरेका छन् ।

अमेरिकाले रुसी तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । ब्रिटेनले यसै वर्षको अन्त्यसम्ममा रुसी तेल आयात अन्त्य गर्ने र ग्यास आयातलाई पनि सकेसम्म चाँडो अन्त्य गर्ने बताइसकेको छ । त्यस्तै ईयूले पनि रुसी ग्यास आयातलाई दुई तिहाइले घटाउँदैछ ।

प्रतिक्रिया