काठमाडौं, १३ वैशाख । नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसालले टिकट पाएनन् ।
कांग्रेसका नेता डा. शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकटको लागि ‘ग्रीन सिग्नल’ दिएपछि उनले सामान्य प्रशासन मन्त्रालयमा राजीनामा बुझाएका थिए । तर सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो ।
देवचुलीमा कांग्रेसले अन्तिममा उनलाई टिकट नदिई अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको छ । माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ ।
कांग्रेसले टिकट नदिएपछि भुसालले राजनीति सम्भावनाको खेल मात्रै बुझेको बताए । देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए ।
उनले ‘राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ बताए । २५ वर्षे निजामति सेवा पूरा गरेका उनले सामान्य प्रशासन मन्त्रालयमा बुझाएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।