काठमाडौं, १२ वैशाख । स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् ।
रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उनले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराए ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले आफूले मुख्य प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी हुने दाबी गरे । उनले ‘म प्रमाणित मान्छे हुँ’ बताउँदै काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले बताए ।
२०५४ सालमा नै काठमाडौंको मेयर पदमा विजयी हुँदा ८४ हजार मत ल्याएको बताउँदै उनले आफूले चुनाव जितिसकेको घोषणा हुन मतदान दिन कुर्नुपर्ने बाध्यता रहेको बताए ।
पत्रकारले यौन दुर्व्यवहार आरोपका बारेमा गरेको प्रश्नमा भने उनले हल्का टिप्पणी गर्दै आरोप लगाउने महिलाहरूलाई पागलको संज्ञा दिएका थिए । ‘आजकल यो पागलहरुका लागि औषधि खान केही पैसा लाग्दैन । मेरो अरु भनाइ छैन । बेलाबेलामा यो इस्यु उठ्छ । त्यसमा मेरो भनाइ केही पनि छैन,’ उनले भने, ‘विवादमा आएन भने केशव स्थापित नै हुँदैन नि ।’
विगतमा आफूलाई ५० वटा मुद्दा लाग्दा ५ वटा थपियोस् भनेर निवेदन हालेको भन्दै उनले भने, ‘त्यति चुनौती बोक्ने मान्छेलाई बाहिर सडकमा केही इस्यु उठ्यो भने त्यता ध्यन दिनु हुँदैन ।’
विवादमा मुछिएपछि वाग्मती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री स्थापितलाई तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले अभद्र र अशिष्ट व्यवहार गर्ने तर आफ्नो पदीय जिम्मेवारी भने बहन नगरेको भन्दै हटाइएका थिए ।
काठमाडौं महानगरपालिकामा मेयर हुँदा २ युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लगाइएपछि उनी विवादमा तानिएका थिए । महानगरपालिकाकी पूर्व कर्मचारी र एक पत्रकारले स्थापितले आफूहरूलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाएका थिए । स्थापित २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचत भएका थिए ।
एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताए ।