गोरखामा कांग्रेसका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए
अखबार टुडे
प्रकाशित:
२०७९, १२ बैशाख

गोरखा, १२ वैशाख । गोरखा नगरपालिकाका मेयरका उम्मेदवार नेपाली कांग्रेसका विश्वदेव श्रेष्ठलाई आफ्नै युवा कार्यकर्ताले हातपात गरेका छन् ।

मनोनयन दर्ता गर्न फोटो खिचाउन बसपार्कस्थित एक फोटोस्टुडियोमा गएका उनलाई दिउँसो एक बजेतिर युवा कार्यकर्ताले कुटपिट गरेका हुन् । कुटपिटबाट उनको टाउको र हातमा चोटपटक लागेको छ ।

तरुण दलका सुदीप थापा मगरलगायतका १०, १२ जना केटाहरुले हेलमेट र सिसाले कुटपिट गरेको उनले बताए । उनले भने, ‘बसिरहेको ठाउँमा एक्कासी आएर हाने । केही बोल्न पनि पाइएन । म त मरेँ भनेको थिएँ । उनीहरुविरुद्ध ज्यान मुद्धामा उजुरी गर्छु ।’

आफूले टिकट नपाएको झोकमा आकांक्षीमध्ये कसैले कुट्न पठाएको उनले आरोप लगाए । उनले टिकट पाएको खबर पाएपछि कांग्रेसका असन्तुष्ट युवा कार्यकर्ताले कांग्रेसको जिल्ला कार्यसमितिको कार्यालय र नगर समितीको कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् ।

प्रतिक्रिया