काठमाडौं, ११ बैशाख । आसन्न स्थानीय तह निर्वाचन अन्तर्गत ललितपुर महानगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीका तर्फबाट उज्ज्वल कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार दलबल र बाजागाजसहित उनले मेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार दिन चाहनेले सोमबार र मंगलबारका लागि समय तोकेको छ । सोहीअनुसार सोमबार देशभर उम्मेदवारी दर्ता सुरु भएको हो । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहने छ ।
यसैक्रममा विवेकशील साझा पार्टीले पनि सोमबार काठमाडौं महानगर र ललितपुर महानगरलगायतका स्थानमा उम्मेदवारी मनोनयन गरेको हो ।
पार्र्टीको बागमती प्रदेश संयोजकसमेत रहेका श्रेष्ठले गएको मंगलबार नै उम्मेदवारी घोषणा गरेका थिए । उनले आफ्नो उम्मेदवारी घोषणा गर्नु पूर्व नवनिर्मित पाटन कृष्ण मन्दिरसँगै रहेको भीमसेनको मन्दिर दर्शन गरि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका थिए ।
समाजसेवी एवं युवा व्यवसायीसमेत रहेका श्रेष्ठले ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवासुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने जस्ता आफ्ना एजेन्डा अगाडि सारेका छन् ।
उम्मेदवारी दर्ता गरेसँगै चुनावी प्रचारमा जुटेका श्रेष्ठले भने, ‘मैले गर्नै नसकिने ठूला ठूला सपना देखाउँदिन । तर, म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु । इमानदारी मेरो पहिलो सर्त हो ।’ ललितपुरमा लोकप्रिय रहेका श्रेष्ठ विवेकशील साझा पार्टीका झुजारु र सक्रिय नेता हुन् । यसअघि उनले संघीय प्रतिनिधिसभाको निर्वाचनमा समेत ललितपुर क्षेत्र नं. ३ बाट चुनाव लडेका थिए ।