अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गरौँ: ऊर्जामन्त्री भुसाल
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख

काठमाडौं, ११ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गरेको छ ।

आज प्रधानसेनापति महारथी प्रभुराम शर्मासँगको भेटवार्ता सो आग्रह गरेका हुन् । मन्त्री भुसालले सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गरौँ । त्यसका लागि आवश्यकपर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’

उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गरे । आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले भने, ‘विद्युत् खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत् खपत हुँदा हाम्रो पुँजी बाहिर जाँदैन ।’

मन्त्री भुसालले नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरे ।

प्रधानसेनापतिले नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । उनले भने, ‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ ।’

महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा कन्भर्ट गर्न सुरु गरिसकेको जानकारी दिँदै भने, “मैले विद्युतीय गाडी नै चढ्छु । आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।’

वातारण संरक्षण र देशको अर्थतन्त्रमा टेवा दिन विद्युत् खपत बढाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उहाँले नीतिगतरूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत् विकासमा लगानी गर्नसक्ने धारणा राखे । उनले जलविद्युत् परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया