सीमा रक्षाका लागि रुसी सहयोग आवश्यक: भारत
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख

काठमाडौं, ११ वैशाख (एजेन्सी) । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छन् । भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो अधिकांश सैन्य सामग्री मस्कोबाट खरिद गर्छ ।

‘तिम्रो एक छिमेकी छ, जसले अर्को छिमेकीसँग हात मिलाउँछ र दुवै मेरो विरुद्धमा छन् । रुस–युक्रेन युद्धको सन्दर्भमा गठबन्धनहरू बनाइएका छन् भने भगवानले रोकून् । चीन र पाकिस्तानलाई संकेत गर्दै सीतारमणले भनिन्, ‘भारत आफ्नो सुरक्षा गर्न पर्याप्त बलियो हुनुपर्छ ।’ ‘भारत युरोपेली युनियन, पश्चिमा देश र स्वतन्त्र तथा उदार विश्वसँग मित्र हुन चाहन्छ’, उनले थपिन्, ‘तर, कमजोर मित्रको रूपमा होइन जसलाई जहाँ पनि सहयोग चाहिन्छ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकमा भाग लिने क्रममा हाल सीतारमण वाशिंगटनमा छिन् । राजनीतिक विज्ञहरूले यसलाई आफ्नो सबैभन्दा ठूलो सैन्य वितरक रुसमाथि भारतको निर्भरता घटाउन पश्चिमा देशहरूले चालेको कदम भएको बताएका छन् ।

भारतले युक्रेनमा रुसी आक्रमणको विरुद्धमा राष्ट्रसंघको सुरक्षा परिषद्मा मतदान नगरे पनि युक्रेनी सहर बुचामा भएको नरसंहारको निन्दा गरेको छ । नयाँ दिल्लीले किभलाई मानवीय सहायता उपलब्ध गराएको छ ।

भारतले रद्द गर्यो चिनियाँको पर्यटक भिसा
यसैबीच, भारतले चिनियाँ नागरिकको पर्यटक भिसा रद्द गरेको छ । अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्टअनुसार अन्तर्राष्ट्रिय एयरलाइन्स संस्था आइएटीएले भारतको तर्फबाट चीनका नागरिकलाई जारी गरेको पर्यटक भिसा अब मान्य नभएको बताएको छ ।

यद्यपि, सरकारका शीर्ष अधिकारीले भारत अहिले पनि चिनियाँ नागरिकलाई व्यापार, रोजगार, कूटनीतिक र आधिकारिक भिसा दिइरहेको जनाएका छन् । चिनियाँ पर्यटकलाई भिसा नदिने भारतको निर्णय पनि चीनले कोभिडका कारण चीन छोडेर २० हजारभन्दा बढी भारतीय विद्यार्थीलाई चीन फर्कन नदिएको चीनको कदमपछि आएको पत्रिकाले लेखेको छ ।

चीनले थाइल्याण्ड, पाकिस्तान र श्रीलंकाका विद्यार्थीलाई फिर्ता गर्न अनुमति दिएको छ तर, भारतीय विद्यार्थीलाई वेटिङमा राखेको छ । विदेशमन्त्री एय जयशंकरले पछिल्लो महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका बेला यो मुद्दा उठाएका थिए तर, बेइजिङले अहिलेसम्म यसले जवाफ दिएको छैन ।

पत्रिका लेख्छ, ‘यूके र क्यानडा ती देशमध्ये हुन् जसका नागरिक ई–पर्यटक भिसामा भारत जान सक्दैनन् तर, ती देशहरुमा भारतीय नियोगहरुले जारी गरेको नियमित कागजी भिसामा भारत आउन सक्छन् ।’

जापान र अमेरिकाका नागरिकलाई जारी गरिएको भिसा बाहेक १० वर्षको वैधता हुने भारतीय पर्यटक भिसा पनि अब मान्य छैन । आइएटीए नियमित रुपमा अपडेट जारी गर्दछ ताकि एयरलाइन्सहरुले कुन देशका नागरिकहरुलाई कुन भिसामा उडान गर्न अनुमति दिइन्छ भनेर थाहा पाउन सकियोस् ।

अप्रिल १९ मा जारी गरिएको नयाँ आइएटीए अपडेट भारतमा केन्द्रित छ । यो ती देशहरूको बारेमा हो जसका नागरिकहरूले ई–टुरिस्ट भिसामा भारत जान सक्दैनन् । दुई वर्षभन्दा बढीको अन्तरालपछि भारतले मार्च २७ मा १५६ देशका लागि विद्युतीय पर्यटक भिसा सुविधा पुनस्र्थापित गरेको छ ।

प्रतिक्रिया