गोरखा, ११ वैशाख । नेपाली कांग्रेसले गोरखामा पालिका चनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
पटकपटक चुनावी तालमेल गर्ने सत्तागठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले स्थानीय तह चुनावमा एक्ले लड्ने निर्णय गरेको हो ।
आइतवार बिहान बसेको जिल्ला कार्यसमितिको आकस्मिक बैठकले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गोरखा कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
निर्वाचनमा तालमेल गर्न सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच ८ पटकसम्म छलफलमा बसेका थिए । तर, उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि दलहरूबीच सहमति जुट्न नसकेको हो ।
न्यौपानेले भने, ‘गठबन्धनका केही राजनीतिक दलको महत्वाकाङ्क्षा र राजनीतिक अपरिपक्वताका कारण गठबन्धन जोगाइराख्ने अवस्था अन्त्य भएको दुःखका साथ जानकारी गराउँछु ।’
२०७४ सालको पालिका चुनावमा कांग्रेसले जिल्लाका ११ पालिकामध्ये ९ पालिकाको प्रमुख जितेको थियो । अहिले सहमतिका लागि यसअघि जितेका पालिकाको प्रमुख पदको दाबी छोड्दा समेत सहमति बन्न नसकेको सभापति न्यौपानेको भनाइ छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सहमतिका लागि लचिलो बने पनि जनता सामाजवादी पार्टीले भने कम्तीमा २ वटा पालिकाको प्रमुख पाउनु पर्ने अडान नछोडेपछि सत्ता गठबन्धन बनाएर पालिका चुनावमा जाने सम्भावना सकिएको उनले बताए ।
जिल्लाका ११ वटै पालिका र ९४ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने जिल्ला कार्यसमितिको निर्णयसँगै उम्मेदवार छनोटको काम तीव्र रुपमा अघि बढाइएको नेपाली कांग्रेस गोरखाले जनाएको छ ।