मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले सार्वजनिक गरेको २८ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, ११ बैशाख

काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आइतबार २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

शाहले सार्वजिनक गरेको चुनावी प्रतिबद्धता पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता जनाएका छन् ।

सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।

युवाहरुलाई उनीहरुको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने शाहले बताएका छन् । उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने पनि उनले बताएका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना अघि सारेका छन् ।

बस स्टपहरूमा फल्चा स्थापना गरिने उनको भनाइ छ । शाहले सार्वजनिक तथा महानगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने बताएका छन् ।

काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहु(तले पार्किङमा परिणत गरिने र काठमाडौँ महानगरपालिका को आफ्नै ट्याक्सी एप सञ्चालन गरिने उनको योजना छ ।

प्रतिक्रिया